भारतको रेल्वे स्टेशनमा गाउँदागाउँदै रातारात बलिउड स्टार भएकी रानु मण्डलको पहिलो बलिउड गीत सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक गरिएको ‘तेरी मेरी कहानी’ बोलको गीतमा रानुलाई गायक तथा संगीतकार हिमेश रेशमियाले साथ दिएका छन् ।
हिमेशको नयाँ बलिउड फिल्म ‘ह्याप्पी, हार्डी एन्ड हीर’मा समावेश गीतमा हिमेशले रानुलाई गाउने अवसर दिलाएका थिए। साब्बिर अमेदको शब्द तथा गायक हिमेशकै संगीत रहेको गीत सार्वजनिक भएको २४ घन्टा नपुग्दै ३८ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्। भिडियो टिप्स म्युजिकको अफिसियल युट्युब च्यानलमा राखिएको छ ।
रानुले हिमेशसँग गएको गीतको रेकर्डिङ भिडियोको क्लिप्स यसअघि भाइरल भइसकेको छ ।
पश्चिम बंगालको रानाघाट रेल्वे स्टेशनमा उनले गाएको गीत सामाजिक सन्जालबाट सार्वजनिक भएपछि उनी एकाएक चर्चाको शिखरमा पुगेकी थिइन् ।