वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको छ ।
करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारी पछिल्लो समय निमोनियाँ रोगबाट पीडित थिइन् । उनले सयौंको संख्यामा नेपाली फिल्ममा अभिनय गरेकी छिन् ।
उनले अभिनय गरेका भाउजू, चिनो, कन्यादानजस्ता फिल्म निकै हिट हुन् । उनको पहिलो फिल्म भने ‘मनको बाँध’ हो । अभिनेत्री अधिकारीका एक छोरा र छोरी छन् ।
उनको निधनप्रति अधिकांश कलाकारहरुले सम्झिएका छन् । फेसबुकमार्फत श्रद्धाञ्जली पनि दिएका छन् । कलाकार विपिन अधिकारीले पनि फेसबुकमार्फत श्रद्धाञ्जली दिएका छन् । यस्तै कलाकार सरोज खनालले भने फेसबुकमा लेखेका छन्, 'भावपुर्ण श्रद्धाञ्जली आमा...हजुरले पनि छोडेर जानु भयो !!'
यस्तै कलाकार वीरेन्द्र हमालले पनि सुभद्रासँग अभिनय गरेका तस्बिर राख्दै सम्झिएका छन् । उनले फेसबुकमा राखेका तस्बिर यस्ता छन् ।
कलाकार सुनील थापाले अभिनेत्री अधिकारीको तस्बिर राख्दै सम्पूर्ण नेपाली चलचित्र जगतले सम्झिरहनेछौं भन्दै फेसबुकमा लेखेका छन् ।