२१ औं एक्काइसौँ शताब्दीका शिव नै मान्दा हुन्छ कालु कुमालेलाई। एकातर्फ दुःख छ भने अर्कातर्फ आक्रोश।
देब्रे काँधमा बोकिएको ‘सतीदेवी’ को लच्किएको शरीर कम्मरसम्म झरेको छ। जीवनको उत्तराद्र्धमा छोराछोरीको प्रशस्त हेरविचार पाए पनि आफ्नी ‘सतीदेवी’ लक्ष्मीमाया नहुँदा कालु कुमाले आफूलाई एकाङ्गी ठान्छन्। आफूले आफैँलाई सान्त्वना दिन आफैँलाई मूर्तीकरण गरे र सतीदेवीको मूर्ति बनाए। उनी आफ्नो एक्लोपन मेट्न दैनिक ज्यासलमा जान्छन्, महिलाका रुप सतीदेवी, बूढी आमा, वसुन्धरा आदि बनाउँदै आफूलाई भुलाउँछन्।
एक फिट अग्लो मूर्तिमा कुमालेले शिव र सतीको मूर्तीकरण गरी एउटा नौलो काम गरेका छन् । लक्ष्मीमायाले उनलाई खेतमा काम नगरी मूर्ति मात्र बनाउन प्रेरणा दिइन्, पतिको रुचिलाई प्रोत्साहन गरिरहिन्। लक्ष्मीमाया अहिले हात्तीवन, उद्योगमार्ग घरमा छैनन्।
यही साउन २५ गते कुराकानीमा उनले आफ्नी सतीदेवीलाई सम्झिए र आँशु चुहाए। खुलेर कुराकानी गर्न पनि सकेनन्। यसरी कुराभन्दा कामले नै कालुलाई नेपालको ‘क्रोधकला शिरोमणि’ बनाइदियो। हालसम्म उनले महाकाल, भैरव, रुद्र आदिका क्रोध मुद्रा र अन्य साना ठूला गरी ६०० मूर्ति बनाइसकेका छन्। अहिले ८७ वर्षमा हिँड्दा पनि उनी केही न केही बनाइरहन्छन् । शयन गरिरहेका गणेश पनि उनको पछिल्लो कृति हो जुन १० इञ्च अग्लो छ । शायद शयन मुद्राको यो गणेशको मूर्ति नेपालमा पहिलो हुनुपर्छ जस्तो पाटन हौगलमा शयन मुद्रामै गौतम बुद्धको मूर्ति बनाउने श्रेय कृष्णबहादुर राजकर्णिकारले पाएको उहाँका छोरा घनश्याम राजकर्णिकार जिकिर गर्छन् ।
‘यस्तो बु्ढ्यौलीमा पनि बुवा कल्पना र विचारमा डुबिरहनुहुन्छ,’ उनका साहिँला छोरा मूर्तिकार राकेश अवालेले भने। राकेशलगायत उनका अन्य छोराहरु पनि अहिले मूर्तिकलामा छन्। राकेशकै प्रबन्ध निर्देशकत्वमा अहिले हात्तीवनमा कालु आर्टस एण्ड ह्याण्डिक्रयाफ्ट प्रालि विसं २०६३ भदौदेखि सञ्चालित छ। प्रालिले कुमालेसँग मूर्तिको पहिलो मैन प्रारुप मूल्य तिरेरै किन्छ। त्यसैलाई प्रायः तामाको मूर्ति बनाउँछ । त्यस्ता मूर्ति कतिपय अर्डरमा आउँछन् भने कतिपय कुमालेका आफ्नै स्वतःफूर्त कल्पनाबाट बनेका हुन्छन्।
भर्खरै बन्दै गरेको दुई किसानको मुक्कामुक्की उनको प्रारम्भिक जीवनको प्रतिविम्ब मान्न सकिन्छ। उनी आफ्नो पृष्ठभूमि र धरातल पनि कहाँ भुल्न सक्छन् र? हेर्दा धातुका यस्ता मूर्ति हातले धातु नै कुँदेर बनाइएको हो कि भन्ने लागे पनि त्यस्तो होइन।
मौरीको चाकाबाट प्राप्त मैन किनेर त्यसलाई कम्पास, धागो, सिलकु, चायगुजस्ता अनेक उपकरणको प्रयोग गरी रुप दिइन्छ । त्यसलाई आवश्यकतानुसार हाकुचा, गठीचा, पहेँलो, मसिनो र कडा माटो आदिले लेपन गरिन्छ । सुकेपछि त्यसलाई भुसले छोपिन्छ । त्यो पनि सुकेपछि त्यसमाथि धातु पगालेर हालिन्छ र भट्टीमा लगी पोलिन्छ । यसबाट मैन झरेर जान्छ । पोलिएको माटो उप्काएपछि मूर्तिको आकार आउँछ । त्यसलाई पोलिस गरेपछि मूर्ति तयार हुन्छ।
एक सपाट मूर्तिमा आँखा, ओठ, दाँत, कान, गाला, हात तथा भावभङ्गिमा वा मुद्रा आदि सन्तुलन र अनुपात मिलाउनु नै निकै गाह्रो काम हो । त्यसमाथि एकपछि अर्को खप्टेका मूर्ति छन् भने तिनको समन्वय गर्नु कम्ती सहज काम होइन । वज्रभैरव महिष संवर मूर्ति त अरुले नसकेर कुमालेले तीन वर्ष लगाएर पूरा गरे जुन अहिले भिक्टोरिया एण्ड एल्बर्ट म्युजियम लण्डनमा पनि राखिएको छ।
‘मलाई भगवानले दिएको शक्ति हो यो,’, कुमाले भन्छन् उनी आफ्ना गुरुको ध्यान र धूपबत्ती पनि गर्छन्। निदाएका बेला गुरुले आएर मूर्ति निर्माणमा निर्देशन पनि दिने उनले बताए। ‘मैले जीवनमा एक घण्टा मात्र सुतेर पनि काम गरेँ, मूर्तिकलामा लाग्नेले आफैँ मेहेनत गर्नुपर्छ,’ उनले भने। छोराहरु र आफ्नो काम गराइमा फरक पाए पनि तिनलाई मिहिनेत गर्न उनी सुझाउछन्। अरुको नक्कल गरेर छिनमै मूर्ति तयार नगर्न पनि उनी सबैलाई आग्रह गर्छन्।
अहिले उनी भैरवको मकुण्डो, वसुन्धरा, मञ्जुश्री, वज्रयोगिनी, नमोबुद्ध, ब्रह्मा, गरुड आदि बनाउँदै छन्। नेपालको एक मात्र उत्तर बग्ने कर्मनशा खोला छेउमा बस्ने कालु र उनका छोराहरु भने मूर्तिकला कर्मलाई संस्थागत बनाई नेपाली मूर्तिकलाको विकासमा लाग्ने र आफ्नो कर्मलाई अझ बलियो बनाउने प्रण गर्छन् ।
कुमालेका पहिलेका र पछिल्लो कालका मूर्तिको प्रदर्शन, वृत्तचित्र निर्माण र उनको व्यक्तित्व र कृतित्वबारेको पुस्तक प्रकाशन पनि आगामी महिना हुँदैछ। रासस