लिटरचेर फेस्टिभलको ८औं संस्करण आउँदो मंसिर २७ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ।
आयोजक बुकवर्म फाउन्डेसनका अनुसार यसपटकको महोत्सवमा १ सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, ३ दर्जनभन्दा बढी सेसन र थप रोचक सामग्री समावेश हुनेछन्।
महोत्सवमा भारतीय लोकसभाका सांसद एवं साहित्यकार डा. शशि थरुर, भारतीय प्रसिद्ध गीतकार एवं कवि जाभेद अख्तर, भारतीय अभिनेत्री सवाना आजमीलगायत चर्चित अन्तर्राष्ट्रिय हस्तीहरूका साथै देशविदेशका १ सय ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिको उपस्थिति रहनेछ।
यसवर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डिएससी पुरस्कार प्रदान गरिनेछ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशिको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत ७ वर्षदेखि प्रदान गर्दै आएको छ।
निर्देशक अजित बरालले भने,‘डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच नेपाल लिटरेचर फेस्टिभललाई नै एक तटस्थ दक्षिण एसियाली मञ्चका रुपमा उभ्याउन मद्दत पु¥याउनेछ।’
नेपाल साहित्य महोत्सवसँगको सहकार्यलाई लिएर दक्षिण एसियाली साहित्य, डिएससी पुरस्कारकी सहसंस्थापक सुरिना नरुला भन्छिन्, ‘हामी आइएमई नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं।’
८ वर्षदेखि दक्षिण एसियाली लेखनलाई निरन्तर प्रवद्र्धन गर्दै आएको डिएससी पुरस्कार प्रत्येक वर्ष फरकफरक दक्षिण एसियाली देशहरूमा वितरण हुने रोलक्रम अनुसार यस वर्ष नेपाल लिटरेचर फेस्टिभलमा घोषणा गर्न लागिएको हो।
महोत्सवले नेपाल भ्रमण वर्षलाई पनि सघाउने विश्वास लिएको नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले बताइन्। काठमाडौंभन्दा बाहिर गएर पनि सफल भएको महत्वपूर्ण कार्यक्रम नेपाल लिटरेचर फेस्टिभल रहेको उनले बताइन्। ‘यसले पोखरालाई ब्रान्डिङमा मात्र सघाएको छैन, बौद्धिक गन्तव्य बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ उनले भनिन्।
जनकपुर र पोखरामा आयोजना हुने लिटरेचर फेस्टिभलले नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक बनाउन टेवा पु¥याउने नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले बताए। नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै प्रदेश सरकार र सरोकारवालाहरूको पहलमा सांस्कृतिक एवम् ऐतिहासिक सहर जनकपुरमा पनि आउँदो कात्तिक १७ र १८ गते साहित्य महोत्सव सम्पन्न हुने जानकारी गराइएको थियो।
सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्रांगणबाट लिट्रेचर फेस्टिभल सुरु भएको हो। पोखरामा हुने महोत्सवमा ¥यान्डर्म रिडरर्स सोसाइटीले साथ दिँदै आएको छ । महोत्सवको मुख्य प्रायोजन आइएमईले गरेको छ ।
नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। साथै, आइएमइले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको कला, साहित्य, संगीत आदि क्षेत्रमा आफ्नो सहभागिता जनाइरहेको र आगामी दिनमा पनि फेस्टिभलसँग सहकार्य जारी रहने उनले बताए।