गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अज्ञात व्यक्तिले टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिँदै गाली–गलौज गरेको बताइएको छ । धम्कीपछि उनले मुम्बई प्रहरीमा घटनाबारे जानकारी गराएका छन् । उनलाई उक्त समूहले अहिलेसम्म तीनपटक फोन गरी ज्यान मार्ने धम्की दिएको छ । उनले सुटिङमा भएकाले बेला–बेला फोन आउने गरेको बताए ।
उदितनारायणका अनुसार फोन गर्ने व्यक्तिले आफ्नो नाम रवि पुजारी बताउने गरेको छ । उसले हरेकपटक फरक नम्बरबाट फोन गर्दै ठूलो रकम माग गरेको पनि उदितको भनाइ छ । जवाफमा उदितले पैसा नदिने बताएपछि अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिने गरेको छ । उदितले घटनाबारे प्रहरीलाई बताएपछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार फोन विहारबाट आइरहेको छ ।
ट्रयु कलरमार्फत उक्त नम्बरमा उदितनारायणकै ‘वाच मेन’ को नाम देखिएपछि प्रहरीले उनीसँग पनि बयान लिएको थियो । वाचमेनले आफ्नो मोबाइल तीन महिनाअघि आफू विहारमै रहँदा चोरी भएको प्रहरीलाई बयान दिएका छन् । ज्यान मार्ने धम्कीपछि अहिले उदितनारायणको घर आसपास सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ ।