मेनका सहरमा बस्थिन् । पूर्णिमाको घर पहाडको एउटा गाउँमा पर्दथ्यो । त्यहाँ मोटर जाने बाटो थिएन । केही वर्ष अघिसम्म त बिजुली बत्ती पनि थिएन । बिजुली नहुँदाको समयमा पूर्णिमा र उनका साथीहरुलाई पढ्न र अन्य काम गर्न बहुतै गाह्रो थियो । गाउँमा बिजुली बत्ती बल्न थालेपछि केही सहज भएको थियो ।
मेनका र पूर्णिमा दिदी–बहिनी थिए । मेनका केवल २ महिनाले मात्र जेठी थिइन् पूर्णिमा भन्दा । पूर्णिमा मेनकाकी माइजूकी छोरी थिइन् ।
पूर्णिमाले मेनकाकी आमालाई फुपू भन्नुपथ्र्यो । मेनकाको घरमा आएका बेला पूर्णिमाले मेनकाको कोठाभरि उनले अतिरिक्त क्रियाकलापबाट प्राप्त गरेको सिल्ड, कप आदि पुरस्कारहरु देखिन् । कोठाका भित्ताभरि प्रमाणपत्रका फ्रेमहरु झुन्डिरहेका देखिन् ।
पूर्णिमाले छक्क पर्दै भनिन्– ‘आम्मा कति धेरै पुरस्कार र प्रमाणपत्रहरु ! मेनका, यी सब चिज तिमीले मात्रै पाएकी हौ ?’
‘हो त नि,’ मेनकाले जवाफ दिइन्, ‘हामीले पढाइका साथसाथै अन्य क्रियाकलापमा पनि सहभागी हुनुपर्छ । हाम्रो टोलमा बाल क्लब छ । वाचनालय छ । पुस्तकालय पनि छ । ती संस्थाहरुले समय–समयमा विभिन्न अतिरिक्त क्रियाकलापहरूको आयोजना गर्छन् । जस्तो खेलकुद, वक्तृत्वकला, हाजिरीजवाफ आदि । मेरा पुरस्कार र प्रमाणपत्रहरु त्यस्तै कार्यक्रमहरूमा भाग लिई प्रथम, दोस्रो भएर प्राप्त गरेकी हुँ ।’
पूर्णिमाको गाउँमा सहर जस्तो सुविधा थिएन । तसर्थ उनलाई नरमाइलो लाग्यो । सन्जोगवश मेनकाको टोलमा एउटा क्लबले हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आयोजना गर्ने समय परेको थियो । पूर्णिमा अझैं केही दिन बस्ने भएकी हुँदा मेनकाले आफ्नो टोलीमा उनलाई पनि सहभागी गराइन् । ४ जनाको मेनकाको टोलीमा अरु २ जना साथीहरु पनि केटी नै थिए ।
सामान्य ज्ञानका मोटा–मोटा किताबहरु देखेर पूर्णिमाले सोधिन्, ‘मेनका यत्ति मोटा किताबहरू कहाँबाट ल्यायौं तिमीले ? किनेकी त पक्कै होइन होला । साह्रै महँगा रहेछन् यी किताबहरू !’
पूर्णिमाकी एउटी सहपाठीले उत्तर दिइन्, ‘लौ, तिमीलाई थाहा छैन ? हामीले ढी मोटा किताबहरु टोलमा स्थापना गरेको पुस्तकालयबाट ल्याएका हौं । बौद्धिक ज्ञानको भण्डारै हो नि पुस्तकालय त ।’
त्यस्तो कुरा सुनेर पूर्णिमाको मनमा पनि आफ्नो गाउँमा त्यस्तै पुस्तकालय स्थापना गर्ने रहर जागेर आयो ।
हाजिरीजवाफ प्रतियोगितामा मेनकाको टोली नै प्रथम भयो । पूर्णिमाले पनि पुरस्कार प्राप्त गरिन् । तर उनी त्यति खुसी देखिइनन् । घरमा आएपछि मेनकाले सोधिन्, ‘किन निराश भएकी पूर्णिमा ? हामीले पुरस्कार पाएको चित्त बुझेन तिमिलाई ?’ पूर्णिमाले लामो सुस्केरा फालेर भनिन्, ‘तिम्रो सहरमा जस्तै मेरो पहाड गाउँमा पनि पुस्तकालय भएको भए हाम्रो पनि त बौद्धिक ज्ञान वृद्धि हुँदो हो । क्लब भएको भए शारीरिक र मानसिक उन्नति हुँदो हो । तर...।’ उनको बोली बीचैमा रोकियो । उनको कुरा सुनेर मेनकालाई केही नरमाइलो त लाग्यो । तर, केही उपाय निकाल्ने विचार गरिन् ।
केही दिनपछि पूर्णिमा आफ्नो गाउँ गइन् । उनले आफ्नो स्कुलका केही साथीहरुसँग सहरमा गएको कुरा गरिन् । आफू फुपूको घरमा बसेका बेलामा भएका घटनाहरुको एक–एक वृतान्त सुनाइन् । उनको कुराबाट साथीहरु प्रभावित भए । अब उनीहरुलाई पनि आफ्नो गाउँमा एउटा पुस्तकालय खोल्ने रहर जागेर आयो । पूर्णिमाको नेतृत्वमा उनीहरुले एउटा टोली गठन गरे । त्यो टोलीले स्कुलको हेडसरसँग पुस्तकालय खोल्ने प्रस्ताव राख्यो । हेडसरले सहयोग गर्ने वचन दिनुभयो । अरु शिक्षकहरुले पनि सक्दो मद्दत गर्ने वचन दिए ।
पूर्णिमाको गाउँमा गाउँको विकास गर्न सहरबाट केही सामाजिक संघ–संस्थाका कर्मचारीहरु गएका थिए । उनीहरुले पनि पूर्णिमाहरुको लक्ष्य पूरा गर्न केही रकम चन्दा प्रदान गरे । स्थानीय स्तरमा रहेका अन्य केही सरकारी कार्यालयहरुबाट पनि केही पुस्तक र चन्दा स्वरूप नगद प्राप्त भयो ।
एक दिन सहरबाट मेनकाले पठाएको चिठी पूर्णिकाले प्राप्त गरिन् । मेनकाले स्कुलका साथीहरुसँग खाजा खाने पैसा संकलन गरी गाउँमा पुस्तकालय खोल्न पठाइदिएकी थिइन् । त्यसरी सबैतिरबाट होस्टेमा हैंसे गरिदिनाले पूर्णिमाको सपनाले साकार रूप लियो ।
नजिकै रहेको एउटा सरकारी कार्यालयमा एउटा कोठा खाली थियो । त्यहीं नै पुस्तकालय स्थापना गरियो । पुस्तकालय सञ्चालन गर्न पूर्णिमा र उनका साथीहरुले केही नियमहरु बनाए । पुस्तकालय खुलेपछि गाउँका छात्रछात्रामा किताब पढ्ने बानीको विकास भयो । गाउँमा त्यसै रल्लिएर बसेका अभिभावकहरु पनि समय बिताउन पुस्तकालय धाउन थाले ।
पूर्णिमाको गाउँमा पुस्तकालय स्थापना भएको समाचार चारैतिर फैलियो । त्यसपछि त त्यो ठाउँमा एक–एक गर्दै पुस्तकालय स्थापना गर्ने लहरै चल्यो । किताब पढ्नेहरुको जनसंख्या बढ्दै गयो र पूरै गाउँ साक्षर बन्दै गयो ।
* बाल साहित्यकार सागरमणि थापाद्वारा लिखित डिकुरा पब्लिकेसनले प्रकाशन गरेको ‘छोराको भकुन्डो र कागहरुको सभा’ बाल कथा संग्रहबाट साभार ।