लमजुङको बेंसीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ ।
५ हजार रोपनीमा निर्माण गर्न लागिएको ‘स्मार्ट फिल्म सिटी’ का लागि नेपालको स्काई इन्टरटेनमेन्ट प्रालि र इटालियन निर्माण कम्पनी वर्ल्ड एरिया होल्डिङ (एसआरएल) बीच सम्झौता भएको छ । निर्माण सम्पन्न भए यो विश्वकै अग्लो स्थानमा भएको स्मार्ट फिल्म सिटी हुनेछ । सो क्षेत्र २ हजार ६० मिटरदेखि २ हजार ९ सय मिटरको उचाइमा छ ।
विश्वस्तरको अत्याधुनिक प्रविधिसहित झन्डै १६ फिल्म छायाङ्कन स्थल निर्माण गर्ने लक्ष्यसहित उक्त परियोजना सञ्चालनका लागि नेपालको स्काई इन्टरटेनमेन्ट प्रालि अध्यक्ष आकाश अधिकारी र इटालियन कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिङ्नोरिल्लोबीच काठमाडौँमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार भएको समारोहमा आफ्ना भनाइ राख्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘स्मार्ट फिल्म सिटी’ नेपालको चलचित्र क्षेत्रकै लागि ‘माइल स्टोन’ भएको प्रतिक्रिया दिए । झन्डै ६ अर्बको लगानीमा निर्माण हुने फिल्म सिटीको डीपीआरको काम आगामी ३ महिनाभित्र सुरु गर्ने परियोजना संयोजक राजेशकुमार पुरीले जानकारी दिए । उनका अनुसार अधिकतम ७ वर्षमा परियोजना पूरा हुनेछ ।
परियोजनाअन्तर्गत १६ चलचित्र छायाङ्कन स्थल निर्माण गर्न सकिने भए पनि पहिलो चरणमा भने १२ वटा निर्माण गरिने जनाइएको छ । परियोजनाभित्र तारे होटल, चलचित्रको अध्ययन गर्ने कलेज, केबुलकार, अर्ग्यानिक फार्म, विभिन्न खेलकुदस्थल तथा विभिन्न देश र नेपालको मौलिक पहिचान बोकेका भौतिक संरचना नमुनाका रुपमा निर्माण गरिनेछ ।
‘वर्ल्ड स्काई सिने भिलेज नेपाल’को नाममा निर्माण हुने फिल्म सिटीमा विश्वस्तरको प्रविधि प्रयोग गरी छायाङ्कन गर्ने स्टुडियो बनाइनेछ । हिमालको अगाडि गल्फ, बञ्जीजम्प, प्याराग्लाइडिङ र स्विमिङ पुलसमेत बन्नेछ । यस्तै काठमाडौँका महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका सम्पदा जस्तै भौतिक संरचना बनाइने स्काई नेपालका अध्यक्ष अधिकारीले बताए ।
वर्ल्ड एरिया होल्डिङका अध्यक्ष फ्रान्सिस्कोले पहिलो घर रोम रहेको र अब दोस्रो घर नेपाल बन्न लागेको उल्लेख गरे । वरिष्ठ चलचित्रकर्मी नीर शाहले राष्ट्रिय चलचित्र उद्योगमा एउटा नयाँ आयाम भएको उल्लेख गर्दै दोलखाको जस्तो नहोस् भन्दै कामना पनि गरे ।
स्थानीय तहको पूर्ण सहयोग
फिल्म सिटी बेंसीसहर नगरपालिका वडा ३, ४, ५ र ९ मा पर्ने नगरप्रमुख गुमानसिंह अर्यालले बताए । फिल्म सिटी बन्न लागेकामा खुसी व्यक्त गर्दै उनले प्राकृतिक दृष्यावलोकनका लागि समेत उपयुक्त स्थान रहेको जानकारी दिए । उनका अनुसार गाउँसहर, पुरानोकोट र बाख्रेजगत गाउँको नजिक फिल्म सिटी बन्दै छ । उक्त ठाउँबाट १४ हिमाल नजिकबाटै नियाल्न सकिन्छ । यहाँबाट अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, बुद्ध हिमाल, हर्कपिक, धौलागिरि, लमजुङ हिमाल देखिन्छ । -रासस