साहित्यकार एवं पत्रकार यादव थपलियाको प्रथम वार्षिक स्मृति दिन (असार १५) का अवसरमा उनको कृतित्व र व्यक्तित्व समेटिएको ‘यादव थपलिया स्मृति ग्रन्थ’ सार्वजनिक भएको छ ।
नागार्जुन साहित्यिक प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्याय, राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारी, पत्रकार किशोर नेपाल, थपलियाकी पत्नी गङ्गा खतिवडालगायतले ग्रन्थ सार्वजनिक गरेका हुन् । १२० पृष्ठको ग्रन्थमा पत्रकारिता र साहित्यका अग्रज तथा सहकर्मीका लेख संस्मरण समावेश छन् ।
थपलिया नागार्जुनका संस्थापक सदस्य थिए । काभ्रेको पाँचखाल ११, डाँडाथोकमा जन्मिएका थपलियाको ४० वर्षको उमेरमा २०७५ असार १५ गते भाइरल ज्वरोले निधन भएको थियो । उनका ‘मृत्युचुम्बन’ उपन्यास, ‘समीक्षा कुटुरो’ समीक्षा संग्रह, ‘हाँडिगाउँको जात्रा’ कवितासंग्रह आदि पुस्तक प्रकाशित छन् । सदस्यसचिव उपाध्यायले साहित्यमा सम्भावना बोकेका थपलियाको निधनले यस क्षेत्रमा अपूरणीय क्षति भएको बताए ।
रासस अध्यक्ष श्यामलले छोटो समयको चिनजानमा लेखन र सम्पादनमा थपलियाको क्षमताबाट आफू प्रभावित भएको स्मरण गरे । पत्रकार नेपालले मूलधारको पत्रकारितामा जम्न थालेका थपलियाको निधनले आफू दुःखित भएको जनाए । प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवाल र संस्थापक अध्यक्ष वैरागी जेठाले थपलियाले नागार्जुनको स्थापना र क्रियाशीलतामा दिएको योगदान स्मरण गरे ।