‘गलबन्दी’ गीतको विषयलाई लिएर भएको विवाद टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा आज शम्भु राई र प्रकाश सपुतबीच भएको ४ बुँदे सहमतिपछि विवाद टुंगिएको हो ।
‘गलबन्दी’ गीतको भाका आफूले सिर्जना गरेको ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै राईले प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गरेका थिए । त्यसपछि छोटो समयमै लोकप्रिय भई सर्वाधिक चर्चाको शिखरमा पुग्न सफल उक्त गीतको लयलाई लिएर विवाद भएको थियो ।
सहमति अनुसार, अब ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ । पुनः संगीत सिर्जनामा भने प्रकाश सपुतकै नाम समावेश हुनेछ । ‘गलबन्दी’ बोलको गीतको हालसम्मको रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहने पनि सहमति पत्रमा उल्लेख छ ।
यस्ताे छ सहमति :
- लोकदोहोरी 'गलबन्दी' बोलको गीतको संगीत सिर्जना शम्भू राई र पुन: संगीत सिर्जना प्रकाश सपूत हुने गरी युट्युबको हकमा शम्भू राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोहो बमोजिम नाम समावेश गरी गलबन्दी बोलको गीतलाई प्रकाशन गर्ने
- गलबन्दी गीतबाट प्राप्त हुने सबै आर्थिक अधिकार, प्रतिलिपि अधिकार तथा स्रष्टा, उत्पादक, प्रस्तोताले पाउने रोयल्टी प्रकाश समूतकै अधिकार रहने र शम्भू राईले कुनै पनि आर्थिक अधिकार एवं प्रतिलिपि अधिकारमा दाबी नगर्ने।
- शम्भू राईले गलबन्दी बोलको गीतको सन्दर्भमा यही असार ५ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा तथा अन्य संघ संस्था निकायमा दिएको निवेदन फिर्ता/ तामेलीका लागि समेत निवेदन दिने
- सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा आएका र आउने तथा आउन सक्ने भ्रमित विषयवस्तु र समाचारहरुलाई सहमतिको विवषय समावेश गरी खण्डन हुने तथा सहमतिको जानकारी गराउने।