उमेरले ७६ लागिसके पनि युवा जस्तै जोसिला र फुर्तिलो छन् पोखरेली कलाकार क्षेत्रलाल कायस्थ । केही दिनयता पोखरा आर्ट ग्यालरीमा चलिरहेको संयुक्त चित्रकला प्रदर्शनीमा विद्यालयका विद्यार्थीलाई कलाबारे जिज्ञासा मेट्नु यतिखेर उनको दैनिकी जस्तै बनेको छ । नातिनातिनाले घेरिएजस्तै स्कुले विद्यार्थीले उनलाई प्रदर्शनी कक्षमा घेरेर कला सम्बन्धमा विभिन्न जिज्ञासा राखिरहँदा र त्यसलाई मेट्न पाउँदा आफूलाई निकै सन्तोषको अनुभूति दिलाएको कायस्थको भनाइ छ । विद्यार्थीमा देखिएको कलाप्रतिको लगावसँगै यस क्षेत्रको भविष्य पनि दिनानुदिन सुनौलो बन्दै गएको उनको बुझाइ छ ।
कायस्थको कलाकारिताप्रतिको लगावलाई आत्मसात् गर्दै उनको परिवारजन र कलाप्रेमीको सक्रियतामा स्थापित कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले स्कुले विद्यार्थीसँगै संयुक्त प्रदर्शनीको अवसर जुटाइदिएको हो । प्रतिष्ठानमार्फत २ वर्षअघि देखि पोखराका बाल मन्दिर, कन्या, ज्ञानभूमि, नवीन, महेन्द्र र नवप्रभात स्कुलमा कक्षा ७ देखि ९ सम्मका विद्यार्थीलाई कला सिकाउन कला शिक्षकको व्यवस्था गरिएको थियो । यस वर्ष बालमन्दिर, ज्ञानभूमि र नवीन गरी ३ स्कुलमा कला विषयको कक्षा सञ्चालन हुँदै आएको छ ।
कला शिक्षकको सम्पूर्ण पारिश्रमिक प्रतिष्ठानले व्यहोर्ने गरी साताको एक दिन कला विषयको कक्षा लिने व्यवस्था मिलाइएको छ । प्रतिष्ठानले कला विषयको पठनपाठनमा सहयोग पुर्याएसँगै कला सिकेकै विद्यार्थीसँग संयुक्त कला प्रदर्शनी गर्ने कायस्थको इच्छाबमोजिम संयुक्त कला प्रदर्शनी आयोजना गरेको हो । कलाकार कायस्थले आफैँ पनि समयसमयमा विद्यालयमा विद्यार्थीसँग पुगी कला सिकाउने कामसमेत गर्दै आएका थिए । 'कला कक्षा सुरु गरेदेखि नै मलाई यी विद्यार्थीसँगसँगै संयुक्त कला प्रदर्शनी गर्ने इच्छा जागेको थियो,' कलाकार कायस्थले भने, 'विभिन्न विद्यालयमा विद्यार्थीले तयार गरेका झन्डै १ सय कला यतिखेर सँगै प्रदर्शनीमा छन्, उनीहरूले निकै राम्रा कला कोरेका छन् मलाई त अत्यन्त खुसी लागेको छ ।'
झन्डै ८ सय विद्यार्थी प्रदर्शनी अवलोकन गर्न आएको बताउँदै उनले ती विद्यार्थीमा देखिएको कलाप्रतिको अभिरुचिले आफूलाई निकै हर्षित बनाएको उनको अनुभव छ । प्रत्येक विद्यार्थीका आ-आफ्ना रुचि र क्षमता हुने भएकाले उनीहरूका प्रतिभा प्रष्फुटन हुन पाउनुपर्ने कायस्थको भनाइ छ ।
समुद्रदेखि पहाड हुँदै हिमालसम्म पुगी कला कोर्ने कायस्थलका अहिले प्रदर्शनीमा राखिएका ३३ कलामध्ये १५ वटा अस्ट्रेलियामा तयार गरिएका हुन् भने १८ वटा मुस्ताङको उपल्लो भेक लोमन्थाङमा तयार गरिएको हो । विद्यालयमा कला शिक्षकको व्यवस्था गरी प्रतिष्ठानबाट सो विषयमा पठनपाठन सञ्चालन गरिनु अत्यन्त उपलब्धिमूलक बन्दै गएको बालमन्दिर मावि नदीपुरका सहायक प्रधानाध्यापक भीष्म लामिछानेले बताए ।
'कलाप्रतिको रुचि भएका विद्यार्थीका लागि कला कक्षा उपयोगी बनेको छ,' उनले भने, 'यस किसिमको अवसरले उनीहरूका लुकेर रहेका प्रतिभा प्रष्फुटन हुन ठूलो सहयोग पुर्याउँछ ।' बालमन्दिरमा कक्षा ७, ८ र ९ मा झन्डै २ सय को हाराहारीमा विद्यार्थीले कला कक्षा लिइरहेको बताउँदै उनले यसप्रतिको आकर्षण बढिरहेको जानकारी गराए ।
आफ्नो चुलबुले बाल्यकालमा ढुङ्गाका छपनीमा चित्र कोर्दै कलाप्रति लोभिएका कलाकार कायस्थले जीवनको यस यात्रामा भारत, बङ्गलादेश, अस्ट्रेलियालगायत देशमा त्यहीँ पुगेर कला सिर्जना गरिसकेका छन् । हालसम्म १२औँ एकल चित्रकला प्रदर्शनी गरिसकेका उनका साना–ठूला गरी झन्डै हजारभन्दा बढी कला सिर्जना तयार भइसकेका छन् ।
कायस्थका अनुसार पहिलोपटक २०२० सालमा जल रङ्गमा तयार गरेको गौरीघाट पोखराको परिवेशमा गाग्री बोकेर आएकी महिलाको तस्बिर उनको औपचारिक कलायात्राको पहिलो प्रस्तुति हो । विसं ०३०/३२ तिर दुर्गा बराल, बुद्धि गुरुङ, गोपाल श्रेष्ठ, आलोक गुरुङलगायतका कलाकारको सङ्गतमा आएका कायस्थले २०४० सालमा आलोक, बुद्धि, महेन्द्रराज भण्डारीलगायतसँग सामूहिक रुपमा घान्द्रुकमा पुगी कला सिर्जना गरेका थिए ।
उनमा त्यसयता व्यक्तिगत एवं सामूहिक रुपमा ठाउँठाउँमा पुगी कला कोरेका थ्रुप्रै अनुभव र भोगाइ छन् । विसं २०२८ देखि निरन्तर ३५ वर्ष पृथ्वीनारायण क्याम्पसमा प्रशासनतर्फ सेवा गरेका कायस्थ सन् १९९८ (विसं २०५५ तिर) ललितकला सान्त्वना पुरस्कार, सन् २००० (विसं २०५७ तिर) राष्ट्रिय प्रतिभा पुरस्कार, २००१ (विसं २०५८ तिर) ललितकला पुरस्कारका साथै सन् २०१३ (विसं २०७० तिर) रोटरी क्लब अफ पोखरा फिस्टेलबाट भोकेसनल अवार्डलगायतबाट सम्मानित भइसकेका छन् ।
उनको कलाकारिता समेटेर सन् २००७ मा ‘द एडभेन्चर अफ मोर्डन आर्ट’ शीर्षकको पुस्तकसमेत प्रकाशन भइसकेको छ । प्रतिष्ठानले कला क्षेत्रको विकासलाई लक्ष्य गरी प्रत्येक २ वर्षबीच कला साधकलाई प्रदान गर्ने भनिएको ५० हजार रुपैयाँको पुरस्कार यही वर्ष मंसिरमा गर्ने जनाइएको छ । -रासस