भारतका चर्चित अभिनेता, फ़िल्म निर्देशक, नाटककार, लेखक तथा ज्ञानपीठ पुरस्कार विजेता गिरीश कर्नाडको ८१ वर्षको उमेरमा निधन भएको छ । सन् १९३८ मा जन्मिएका गिरीशले १९७० मा कन्नड फिल्म 'संस्कार' बाट चलचित्र क्षेत्रको यात्रा सुरु गरेका थिए । उनको पहिलो फिल्मलाई नै राष्ट्रपतिको 'गोल्डन लोटस पुरस्कार' प्राप्त भएको थियो ।
आरके नारायणको पुस्तकमा आधारित टिभी शृंखला मालगुडी डेजमा उनले स्वामीको पिताको भूमिका निर्वाह गरेका थिए । जसलाई भारतको सरकारी टेलिभिजन दूरदर्शनमा प्रशारण गरिएको थियो । यो आज पनि उत्तिकै चर्चित छ ।
१९९० को आरम्भमा विज्ञानमा आधारित एक टिभी कार्यक्रम 'टर्निंग प्वाइन्ट'मा उनले सञ्चालक (होस्ट) को भूमिका निभाएका थिए । जुन त्यसबेलाको निकै लोकप्रिय विज्ञानमा आधारित कार्यक्रम थियो ।
उनको अन्तिम फिल्म कन्नड भाषामा बनेको 'अपना देश' थियो । यो २६ अगस्तमा सार्वजनिक भएको थियो । बलिउडको भने उनको अन्तिम फिल्म 'टाइगर जिन्दा है' (२०१७) हो । यसमा उनले डा. शेनायको भूमिका निभाएका थिए ।
कन्नड र अंग्रेजी भाषामा उनी उत्तिकै दक्षता राख्थे । उनले पहिलो नाटक पनि कन्नडमै लेखे जसलाई पछि अंग्रेजीमा अनुवाद गरेका थिए । उनका नाटकमा 'ययाति', 'तुग़लक', 'हयवदन', 'अन्जु मल्लिगे', 'अग्निमतु माले', 'नागमण्डल' तथा 'अग्नि और बरखा' निकै प्रसिद्ध रहे ।
गिरीशलाई १९९४ मा साहित्य एकेडेमी पुरस्कार, १९९८ मा ज्ञानपीठ पुरस्कार, १९७४ मा पद्म श्री, १९९२ मा पद्म भूषण, १९७२ मा संगीत नाटक एकेडेमी पुरस्कार, १९९२ मा कन्नड साहित्य एकेडेमी पुरस्कार, १९९८ मा ज्ञानपीठ पुरस्कार तथा १९९८ मा उनी कालिदास सम्मानबाट सम्मानित भएको बीबीसीले उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमा प्रतिक्रिया
गिरीश कर्नाडको निधनमा फिल्म, राजनीति तथा अन्य क्षेत्रका व्यक्तिले सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमा भनेका छन्, 'गिरीश कर्नाडलाई सबै क्षेत्रमा उनको बहुमुखी प्रतिभाको सम्झना गरिनेछ । उनले आफूलाई राम्रो लाग्ने विषयमा पूरै भावुकताले डुब्थे । उनको कर्मलाई आउने समयमा पनि सम्झना गरिरहनेछौं । उनको निधनबाट दु:ख भएको छ । उनको आत्मालाई शान्ति मिलोस् ।'
केन्द्रीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले लेखेका छन्, 'फ़िल्म कलाकार गिरीश कर्नाडको निधनबाट दु:ख भएको छ । उनका परिवारका सदस्य तथा प्रशंसकप्रति मेरो समवेदना छ ।
कंग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले पनि उनलाई श्रद्धाञ्जली दिएका छन् । यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, चर्चित अभिनेता कमल हसन, उनकी छोरी तथा अभिनेत्री श्रुति हसनले पनि गिरीशको निधनप्रति शोक जनाएका छन् ।