शुक्रबारको दिन थियो, बिहानदेखि अचाक्ली गर्मी हुने गरी चर्को घाम लागेको । २०५८ जेठ १९ गते बिहानको ८ बजे, सधैंझैं महाराजधिराज सरकार 'मर्निङ वाक'मा निस्किबक्स्यो । त्यसदिन मौसुफको अनुहार अवसादले ढाके जस्तो अलि अँध्यारो देखिन्थ्यो । यस्तो लाग्थ्यो, कुनै किसिमको वलिष्ठ बोझ झेल्नुपरिरहेको छ । शिष्टाचारले मिल्दो हो त म 'के भयो सरकार' भनी सोध्ने थिएँ । तर म त फगत एउटा पार्श्ववर्ती मात्र न थिएँ । शारीरिक असुरक्षाबाट जोगाउनु मेरो जिम्मेवारी थियो, मानसिक विषादबारे न म केही जान्न सक्थें, न त केही भन्न नै । मनमनै नियालें मात्र ।
वीरेन्द्र सरकार दुई घण्टासम्म केही नबोली दरबारभित्र टहलिबक्स्यो । सरकार सामान्यतया कमै बोल्ने स्वभाव भए पनि अरु बेला केही न केही कुराकानी भइहाल्थ्यो । त्यसदिन त्यस्तो भएन । दरबारलाई घेर्ने पर्खालको भित्रपट्टि गोलाकार सडक छ, सरकार बिहान-बिहान त्यहीं चक्कर लगाइबक्सन्थ्यो । त्यसदिन पनि सुरुमा टुकुचा खोलातिरको भाग, पछिचाहिँ दरबार, मूलद्वार, सचिवालय र बगैंचातिर चुपचाप ओहोरदोहोर गरिबक्स्यो । म सधैंझैं चार कदम पछिपछि हिँडिरहें ।
बिहानको यो हिँडडुल राजाको नियमित रुटिनमा पर्थ्यो । दरबारभित्र टहल्दा व्यवस्थापन र मर्मतसम्भारमा कहींकतै गडबडी देखिए त्यसलाई तत्काल सच्याउन र तालुकदारलाई नसिहत दिलाउन पनि मौसुफबाट तत्कालै हुकुम हुन्थ्यो । काम बिगार्नेलाई नसिहत दिने भनेको जम्मा एक रुपैयाँ जरिवाना गराउने थियो । कुनै मालीले फूल राम्रोसँग नगोडेको पाइए, कुचीकारले कसिङ्गर पूरै नबढारेको देखिएमा र यसैगरी आफ्नो जिम्मेवारी पूरा गर्न चुकेका अन्य कर्मचारीलाई पनि यस्तो साङ्केतिक सजाय गरिन्थ्यो । महाराजधिराज सरकारबाट कैयौंपल्ट मर्निङ वाककै बेला यस्तो हुकुम भएको र मैले प्रमुख राजदरबार पदाधिकारी शारदाप्रसाद प्रधानलाई टिपाएको सम्झना छ । हेर्दा एक रुपैयाँ जस्तो देखिए पनि जरिवानाको अभिलेख दरबारमा रहिरहने र त्यसले बढुवा, पजनी, बकस इत्यादिमा असर पार्ने हुनाले दरबारका कर्मचारी राजाबाट आफ्नो कसुर भेटिएला भनी निकै सावधान भएर काम गर्थे । र दरबारभित्रको व्यवस्थापन सधैं चुस्त रहन्थ्यो ।
सरकारले देशदुनियाँबारे आफूलाई लागेको कुरा पनि मर्निङ वाककै बेला गरिबक्सन्थ्यो । हामीलाई कतिपय कुरा बताउन पनि त्यसै बेला सहज हुन्थ्यो । सधैंका अल्पभाषी महाराजधिराज अलि बोल्ने बेला भनेकै त्यही प्रात:कालीन टहल्याइ थियो । तर त्यसदिन भने त्यस्तो केही भएन । हामी चुपचाप हिँडिरह्यौं ।
दुई घण्टाको हिँडाइपछि मौसुफ नारायणहिटि दरबारको पूर्वी भागमा रहेको 'इन्डोर स्विमिङ पुल' भित्र पसिबक्स्यो । सरकार शान्त तलाउमा मतापले तैंरिँदा पानीका तरङ्गहरु उठे र बिलाए । मौसुफ पौडी खेल्न खुब मज्जा मानिबक्सन्थ्यो । सुरुसुरुमा पौडीपोखरीभित्र पस्दा अङ्गरक्षकहरु बाहिरै कुरेर बस्ने गर्थे । सरकारलाई २०५५ सालमा हृदयाघात भएपछि भने हामी भित्रै जान थाल्यौं । दैनिक तालिकाअनुसार ११ बजे महाराजधिराज पानीबाट बाहिर निक्लिबक्सन्थ्यो । त्यसदिन पनि समयमै बाहिर निक्लिबक्स्यो । मेरो 'सिफ्ट' पनि सकियो । मैले आफ्नो 'ड्युटी' टीका धमला जर्साबलाई बुझाएर निस्किँएँ ।
000
मध्य दिनमा घाम घाम चर्किंदै गयो । दरबारबाट निस्किएर म नजिकैको भाटभटेनी सुपर मार्केट गएँ । मेरी श्रीमती जानुका पनि त्यहीं आएकी थिइन् । मैले एउटा शीतल खालको सेतो सर्ट र एउटा हाफ पाइन्ट किनें । किनमेल सकेर हामी सीधै भक्तपुर घर गयौं । केही बेर विश्राम गरेर साँझ ६:३० बजे फेरि दरबार फर्किंएँ ।
प्रमुख शाही पार्श्र्ववर्तीका हैसियतमा बिहानझैं त्यस रात पनि म महाराजधिराजको सुरक्षामा खटिएको थिएँ । मङ्गल सदनमा सवारी रहेछ । बेलुकाको 'सिफ्ट' साँझ सात बजेबाट सुरु हुन्थ्यो । मैले दिउँसो खटिनुभएका टीका धमला जर्साबबाटै ड्युटी जिम्मा लिएँ ।
'आज सरकारको सवारी कहाँ छ ?' काम सकेर जान लागेका एडीसीलाई सोध्ने चलन थियो ।
टीका जर्साबले भन्नुभयो, 'त्रिभुवन सदनमा शुक्रबारे पार्टी छ । खटनपटन सबै भइसक्यो । अफिसपछि त्यही गइबक्सन्छ ।'
हरेक महिनाको तेस्रो शुक्रबार दरबारमा एउटा पारिवारिक पार्टी आयोजना गर्ने गरिएको थियो । त्यो प्राय: नियमित रुपमा हुने गरेकाले खासै नयाँ कुरा थिएन । त्यसैले यसप्रति ज्यादा सचेत वा अनुरक्त हुनुपर्ने कुनै कारण थिएन । अघिपछिझैं त्यस दिन पनि चन्द्रागिरिको शिखरमुनि सूर्य अस्त भयो । दरबारका चराहरु गुँड फर्किए । दिउँसोका कर्मचारीहरु काम सकेर बिदा भए । टीका जर्साब पनि घर जानुभयो, शाही सुरक्षाको ड्युटी मैले सम्हालें ।
दरबारभित्र हुने पारिवारिक पार्टीको आयोजना र समन्वय प्राय: बडामहारानी सरकारबाट हुन्थ्यो । यस्तो पार्टीमा राजपरिवारका सदस्य र शाही नातेदार मात्र बोलाइन्थे । आमन्त्रित हुनेको सूची लगभग उही हुन्थ्यो । दरबारभित्र फागु खेल्न पनि यिनै मानिसलाई बोलाइन्थ्यो । पहिला यस्ता पार्टी दरबारकै पूर्वी भागसँग जोडिएको त्रिशूल सदनमा आयोजना गरिन्थ्यो । दुई वर्षयता चाहिँ ज्यादाजसो युवराजधिराजको निवास त्रिभुवन सदनमा हुने गरेको थियो । त्रिशूल सदनभन्दा त्रिभुवन सदन ज्यादा फराकिलो हुनाले पनि पार्टी गर्न त्यो ठाउँ बढी पायक परेजस्तो भान हुन्थ्यो । तर त्यो नारायणहिटी राजदरबारको भित्री घेरा मेची-महाकाली द्वारभन्दा बाहिर पर्थ्यो ।
अचेल मेरो मनमा कहिलेकाहीं सोचाइ आउँछ- त्यो साँझको पार्टी त्रिशूल सदनमै गरिएको भए इतिहासको रथ सायद अर्कै ढङ्गबाट घुम्थ्यो कि ! पछि त्यहाँ जे अनिष्ट भयो, त्यसबाट जोगिन सकिन्थ्यो कि ! किनभने त्रिशूल सदनभित्र राजालाई भेट्न छिर्नुअघि परिवारकै सदस्यसमेत अङ्गरक्षकहरुबाट गुज्रिनुपर्थ्यो । युवराजको त्रिभुवन सदनमा चाहिँ त्यस्तो व्यवस्था थिएन । एडीसी कक्ष अलि बाहिर थियो, युवराजको खोपी अर्कोतर्फ । त्यहाँ भित्रभित्रबाट नै आउजाउ गर्न सकिन्थ्यो ।
जेठको महिना भएकाले सहरको मौसम तातिँदै गए पनि अरु सब कुरा सामान्य र शान्त थिए । त्यसबेलासम्म मलाई आभास थिएन, दरबारमा कत्रो अनिष्टले वितण्डा मच्चाउँदै छ भन्ने । अरु जस्तै यस कालरात्रिबाट बेखबर महाराजधिराज पनि आफ्नै दैनिक कार्यमा व्यस्त होइबक्सन्थ्यो ।
* तत्कालीन राजा वीरेन्द्र शाहका प्रमुख शाही पार्श्र्ववर्ती (चिफ एडीसी) सुन्दरप्रताप रानाले हालै प्रकाशनमा ल्याएको दरबारको दु:खान्त पुस्तकको अंश ।