रामुको घरवरपर सधैं दुईवटा बिरालो आवतजावत गरिरहन्थे । ती दुई बिरालाबीच असाध्यै राम्रो मित्रता थियो । एउटा खैरो रङमा सेतो धर्सो भएको केटा बिरालो र अर्को सेतो रङको केटी बिरालो थियो । उनीहरुको नाम खैरे र सेती थियो । जहाँ गए पनि खैरे र सेती सँगै जान्थे । जे भेट्टाए पनि बाँडीचुँडी खाने गर्थे ।
खैरे र सेती धेरैबेर रमाइलो गरी खेलिरहेका थिए । खेल्दाखेल्दै दुवै थाके । दुवैलाई भोक पनि ज्यादै लाग्यो । दुवै मिलेर खाना खोज्न हिँडे । खैरेले सानो मुसो रामुको कोठामा आइरहेको देख्यो । खैरेले सेतीलाई खुसी हुँदै मुसो देखायो । सेतीले मुसो देख्नासाथ विस्तारै गएर च्याप्प समात्यो । अनि एकातिर दौडियो । सेतीको पछिपछि खैरे पनि दगुर्यो । मुसो खान पाउने भएपछि उनीहरु दंग परे । मुसो खाने कुरामा उनीहरु सहमत हुन सकेनन् । एक्लैले जुक्ति खोज्न थाले ।
सेतीले भनी, 'खैरे मुसो सार्है सानो छ । यसलाई भाग लगाउँदा थोरै मात्र मासु हुन्छ । यो भाग न तिमीलाई पुग्छ न त मलाई । त्यसैले यो मुसो म मात्र खान्छु । बरु तिमी गएर अर्को ठूलो मुसो खोजेर ल्याऊ । अनि त्यो ठूलो मुसो बरु दुवैलाई बराबर भाग लगाउँला हुन्न ?'
सेतीको कुरा सुनेर खैले जिल्लियो । उसले केही जवाफ दिन सकेन । पछि खैरेले भन्यो, 'हेर सेती ! पहिला अगाडि आएको आहारा नै भाग लगाएर खाऔं । अनि पछि फेरि दुवै गएर अर्को शिकार खोज्न सँगै जाउँला, हुन्न र ? हामी जहिले पनि बराबर भाग लगाएर खान्थ्यौं होइन र ?'
सेतीले भनी, 'यो मुसो मैले समातेको हो नि । त्यसैले यसमा मेरो हक लाग्छ । त्यसैले यो मुसो म एक्लैले खान पाउनुपर्छ ।'
खैरेले भन्यो, 'सेती ! यो मुसोलाई पहिले मैले देखेको । त्यसपछि मैले नै तिमीलाई देखाएको हो नि । यदि मैले नदेखेको भए तिमीले समात्न सक्थ्यौं ? त्यसैंले त्यो मुसोमा बराबरको हक मेरो पनि छ बुझ्यौ लोभी सेती ?'
सेतीले भनी, 'होइन कसलाई लोभी भनेको ? लोभी त तिमी नै हौ । नत्र किन यो मुसोमा आँखा गाडेको ? मैले समातेपछि यो मुसो मेरो भयो । त्यसैले यो मुसो म मात्र खान्छु । तिमीलाई कुनै भाग पनि दिन्नँ ।'
दुवैजना तँ-तँ र म-म गरेर झगडा गरेको मौका पारेर सानो मुसो कुलेलम ठोक्यो । मुसो सानो प्वालमा स्वात्त छिरेको देखेर दुवै हिस्स परे । मुसो खान नपाएको दोष एकले अर्कोलाई दिएर फेरि झगडा गर्न थाले । धेरैबेर झगडा गरेपछि दुवै रिसले आ-आफ्नो बाटो लागे । दुवै धेरै थाकिसकेका थिए भने भोकले गर्दा झन् रन्थनिए । त्यसदिन दुवै भोकै सुत्नुपर्यो । भोकले गर्दा दुवैलाई पटक्कै निद्रा परेन ।
सेतीले सोची, 'विचरा खैरे । मैले गर्दा बेकारमा ऊ पनि भोकै सुत्नुपर्यो । दुवै मिलेर मुसो बाँडीचुँडी खाएको भए पनि हुन्थ्यो । खैरेले जे भेटाए पनि मलाई आधा दिन्थ्यो । मुसोलाई पहिले उसैले देखेको हो । उसले पनि समात्न सक्थ्यो । तर उसले मौका मलाई दियो । मुसोमा बढी हक त उसैको थियो । बेकारमा म नै लोभी भएछु ।'
खैरेले पनि विचार गर्न थाल्यो, 'बेकारमा झगडा गरेर परिसकेको शिकारलाई भगाएछु । न उसले खान पायो न त मैले खान पाएँ । त्यति सानो मुसो एउटाले उसको त पेट भर्दैन भने दुवैलाई भाग लगाउँदा झन् कसलाई पुग्थ्यो र ? सेतीले भनेको पनि ठीकै त थियो नि । मैले उसका लागि मुसो छाडिदिनुपर्थ्यो र म अर्कै शिकार खोज्न गएको भए कमसे कम दुवैले पेटभरि त खान पाउँथ्यौं । विचरा कति भोक लागेको होला उसलाई । त्यही भएर त उसले मलाई भाग नलगाउने भनेकी होलिन् । बेकारमा मैले नै लोभ गरेर भोकै बस्नुपर्यो । सेती पनि रिसाएजस्तो छ ।'
भोलिपल्ट दुवैको भेट भयो । दुवैले अबदेखि कहिल्यै झगडा नगर्ने भने । जे भेटिए पनि बाँडेर खाने बताए ।
* डिकुरा पब्लिकेसनले प्रकाशन गरेको सुनपखेटी बाल कथा संग्रहबाट ।