भारतीय महिला आरोही अरुणिमा सिंहमाथि बन्न लागेको बायोपिक फिल्ममा अभिनय गर्न बलिउड अभिनेत्री आलिया भट्ट सगरमाथा क्षेत्र पुग्ने भएकी छन् ।
फिल्मको छायांकन सगरमाथा आधार शिविरमा हुनेछ । फिल्म सिंहमाथि लेखिएको पुस्तक 'बर्न अगेन द माउन्टेन' माथि बन्न लागेको हो ।
सन् २०२० मा फिल्म युनिट छायांकनका लागि सगरमाथा क्षेत्र आउने बताइएको छ । धर्मा फ्रोडक्सनको ब्यानरमा फिल्म बन्न लागेको हो ।
सन् १९८८ मा जन्मिएकी अरुणिमालाई चोरहरुले गुडिरहेको रेलबाट फ्याँकिदिएका थिए । यो दुर्घटनामा परि उनले देब्रे खुट्टा गुमाएकी थिइन् । उनले २१ मे २०१३ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो अपांगता भएकी भारतीय महिला बन्न सफल भएकी थिइन् ।
भारत उत्तर प्रदेशकी अरुणिमा दुर्घटनामा पर्नसअघिसम्म उत्तरप्रदेश महलाल भलिबल टिममा थिइन् । उनले सन् १९८४ मा सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला बचेन्द्री पाललाई आदर्श बनाउँदै सगरमाथा चढ्ने निधो गरेकी थिइन् ।