भारतमा भएको लोकसभा निर्वाचनमा प्रचण्ड बहुमतका साथ एनडीए गठबन्धन विजयी भएको छ। भाजपा नेतृत्वको एनडीए गठबन्धन वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा चुनाव लड्दा कंग्रेसको यूपीए गठबन्धनको नेतृत्व राहुल गान्धीले गरेका थिए।
५४२ सिटका लागि भएको निर्वाचनमा एनडीए गठबन्धनले ३५२ सिटमा जित निकाल्दा यूपीएले ८६तथा अन्य दलहरुले १०४ सिटमा जित हात पारेका छन्। एनडीए गठबन्धनमै रहेको सत्तारुढदल भाजपा एक्लैले ३ सय बढी सिट जितेको छ। यो निर्वाचनमा चलचीत्रकर्मीहरु पनि विभिन्न पार्टीबाट उम्मेदवार बनेका थिए। भाजापबाट उम्मेदवार बनेका अधिकांश कलाकारले चुनाव जितेका छन् भने कंग्रेसका उम्मेदवार भने पराजित भएका छन्।
सनी देओल : अभिनेता सनी देओल चुनाव अगाडि भाजपामा सामेल भएका थिए। पञ्जाबको गुरदासपुर सिटबाट उम्मेदवार बन्दै लोकसभा सदस्यको रुपमा निर्वाचित भए। उनले पञ्जाब कंग्रेसका प्रदेश अध्यक्ष तथा तत्कालिन सांसद सुनील जाखडलाई पराजित गरेका हुन्।
हेमा मालिनी : भाजपाको मथुरा सिटबाट फेरि निर्वाचित भएकी छिन्। उनलाई गठबन्धनका उम्मेदवार नरेन्द्र सिंह र कंग्रेसका महेश पाठकले चुनौती दिएका थिए। तर उनी विजयी हुन सफल भइन्।
शत्रुघ्न सिन्हा : भाजपा छाडेर उनी हालै कंग्रेसमा प्रवेश गरेका थिए। २०१४ मा भाजपाबाट सांसद बनेका सिन्हाले भाजपा छाडेपछि यस निर्वाचनमा उनी कंग्रेसबाट पटना साहिब बाट उम्मेदवार बन्दा उनी पराजित भए। सिन्हालाई भाजपाका केन्द्रीय मन्त्री रवि शंकर प्रसादले पराजित गरेका हुन्।
उर्मिला मातोडकर : लोकसभा निर्वाचन अघि मात्रै कंग्रेसमा सामेल भएकी थियन्। अभिनेत्री उर्मिला मातोडकर उत्तर मुम्बईको उम्मेदवार बनाइएको थियो। तर उनी भाजपाका वर्तमान सांसद गोपाल सेट्टीसँग पराजित भइन्।
राज बब्बर : फतेहपुर सीकरी लोकसभा सिटमा कंग्रेसबाट अभिनेता राज बब्बर उम्मेदवार बनेका थिए। तर भाजपाका राजकुमार चहार र गठबन्धन उम्मेदवरा गुड्डु पण्डित पनि सोही क्षेत्रमा हुँदा त्रिकोणीय भिडन्त भयो जसमा बब्बर पराजित भए।
जया प्रदा : भाजपाकी उम्मेदवार जया प्रदा यूपीको रामपुर क्षेत्रमा उम्मेदवार बनेकी थिइन्। तर त्यहाँ समाजवादी पार्टीका नेता आजम खानसँग पराजित भइन्।
रवि किशन : भाजपाले भोजपुरी अभिनेता रवि किशनलाई गोरखपुरबाट उम्मेदवार बनाएको थियो। उनले गठबन्धनका उम्मेदवार रामभुआल निषादलाई पराजित गरे।
मनोज तिवारी : उत्तर पूर्वी दिल्लीबाट भाजपाले मनोज तिवारीलाई उम्मेदवार बनाएको थियो। उनले कांग्रेसकी पूर्व मुख्यमन्त्री शीला दीक्षितलाई पराजित गर्दै लोकसभामा स्थान सुरक्षित गरे।
स्मृती इरानी : टेलिफिल्म अभिनेत्री रहेकी स्मृति इरानीले कंग्रेस अध्यक्ष राहुल गान्धीलाई अमेठि निर्वाचन क्षेत्रमा पराजित गरेकी छिन्।