नेपाली फिल्म निर्देशक मीनबहादुर भामको फिल्म ‘अ इयर अफ कोल्ड’को स्क्रिप्टले नर्वेजियन साउथ फिल्म फन्ड (सरफन्ड) बाट ६० हजार डलरको ग्रान्ट सहयोग जितेको छ ।
सरफन्डले विश्वभरबाट आएका ५२ स्क्रिप्टमध्येबाट उत्कृष्ट ६ वटा छानेको हो । जसमा ४ कथानक फिल्म र २ डकुमेन्ट्री छन् ।
नेपालबाट निर्देशक भामसँगै अफगानिस्तानको ‘द पोस्टम्यान’, चीनको ‘द स्ट्रेन्जर’, इजिप्टको ‘एज आई वान्ट’, दक्षिण अफ्रिकाको ‘हाउ टू स्टिल अ कन्ट्री’ र जर्जियाको ‘भेनिस’ले ६० हजार डलरकै ग्रान्ट जितेका छन् । भामको निर्देशन रहने ‘अ इयर अफ कोल्ड’ हराएको पतिको खोजीमा निस्किएकी एक गर्भवती महिलाको यात्रा वर्णन हो ।
सरफन्ड नर्वेजियन फिल्म इन्स्टिच्युटबाट संचालित अन्तराष्ट्रिय सह निर्माण फन्ड हो । यस फन्डमा ८५ देशका निर्माता सामेल छन् ।
यसअघि पनि भामको फिल्म कालो पोथीले बर्लिन फिल्म फेस्टिभलअन्तर्गत वर्ल्ड सिनेमा फन्डमार्फत् ३९ लाख रुपैयाँ, स्वीट्जरल्यानडको भिजन सुदबाट ५५ लाख रुपैयाँ जितेको थियो ।