करीब साढे २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। दुवै फिल्मप्रति दर्शकमा ठूलो अपेक्षा छ।
आफ्नो फिल्मले राम्रो दर्शक तान्नेमा दुवै फिल्मका निर्देशक विश्वस्त देखिन्छन्। कुन फिल्मले बाजी मार्ला त्यो त फिल्मको प्रदर्शनको केही दिन त कुर्नै पर्छ। फिल्म ‘जात्रै जात्रा’को पहिलो फिल्म ‘जात्रा’ले व्यावसायिक र समीक्षात्मक सफलता हात पारेको थियो।
सिक्वेलले यो विरासत धान्न सक्ला वा नसक्ला ? धेरैका लागि चासोको विषय बनेको छ। फिल्मका निर्देशक प्रदीप भट्टराई हुन्। मल्टीप्लेक्सहरुमा पाएको सोज संख्या हेर्दा यो फिल्मले बक्सअफिसमा बम्पर व्यापार गर्ने देखाउँछ। फिल्मले राजधानी भित्र र बाहिरका अधिकांश मल्टीप्लेक्सहरुमा उच्च सोज हात पारेको छ।
बुधवार साँझबाट नै मल्टीप्लेक्समा फिल्मको बुकिङ खुल्ला गरिएको थियो। अग्रिम बुकिङमा फिल्मलाई क्यूएफएक्स चेनले राजधानीको ५ स्टेशनमा १९ सोज बाँडेको छ।
यस्तै, मोफसलतर्फ क्यूएफएक्सको पोखराको सिनेप्लेक्स हलमा ४ शो, चितवनको जलमा हल, नेपालगन्जको बाग्गेश्वरी हल र विर्तामोडको हलमा फिल्मले ३–३ सोजमा आफ्नो उपस्थिति जनाउँदैछ। यस्तै, राजधानीमा सञ्चालित अन्य मल्टीप्लेक्स हलहरुले क्यूज सिने र सिडिसी सिनेमाले फिल्मलाई ५–५ शो बाँड्दा बिग मुभिज, एफक्यूब, र विएसआर मुभिजले समान्तर ४ शो प्रदान गरेका छन्।
मल्टीप्लेक्समा पाएको उच्च सोजले ‘जात्रै जात्रा’ माथि बम्पर ओपनिङ गर्नुपर्ने अर्को ठूलो चुनौती थपिएको छ। गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइप र स्टारकास्टका कारण फिल्मको इनिसियल बक्सअफिस बलियो हुने फिल्म पण्डितहरुको पूर्वअनुमान छ। फिल्ममा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरुको अभिनय छ।
त्यस्तै यो फिल्मसँग एकसाथ प्रदर्शनमा आएको अभिनेता पल शाह स्टारर फिल्म ‘बीर विक्रम २’ ले जात्रै जात्राको तुलनामा केही कम सोज पाएपनि मल्टीप्लेक्सहरुमा राम्रै सोज पाएको छ। क्यूएफएक्स चेनले राजधानीको ५ स्टेशनमा फिल्मलाई १२ सोज प्रदान गरेको छ। अन्य मल्टीप्लेक्सहरुले पनि फिल्मलाई राम्रो सोज दिएका छन्।
यो फिल्ममा प्रदीप भारद्वाजको कथा छ भने पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ। चलचित्रलाई वीर र विक्रमको मित्रताको कथा भनिएको छ। फिल्मले हिमाली गाउँको कथालाई कथानक बनाइएको छ। बुधरवार गरिएको प्रिमियरमा यो फिल्मले राम्रै प्रतिक्रिया पाएको थियो।