फ्राइडे रिलिजमा शुक्रबार (आज) दुई फिल्म प्रदर्शनमा आउँदै छन् । नेपाली फिल्मले राम्रो व्यापार गर्न नसकिरहेका बेला अपेक्षा गरिएका चलचित्र नै आपसमा जुधिरहेका छन् ।
देशभर शुक्रबार (आज) बाट ए मेरो हजुर-३ र यात्रा-द म्युजिकल भ्लग प्रदर्शनमा आएका हुन् । ए मेरो हजुर-३ झरना थापाको निर्देशनमा सुनीलकुमार थापाले निर्माण गरेका हुन् भने नवनिर्देशन सम्राट शाक्य निर्देशित यात्रालाई केशव भट्टराई, सुशील पोखरेललगायतले निर्माण गरेका हुन् ।
झरना पुत्री सुहानाले हिरोइनका रूपमा डेब्यु गरेको ए मेरो हजुर-३ मा अनमोल केसी, सलोन बस्नेत, अर्पण थापालगायतको अभिनय छ । यात्रामा भने सलिनमान बनियाँ, राजाराम पौडेल, सलोन बस्नेत, मलिका महत, रेअर राई, जाहान्वी बस्नेतलगायतको अभिनय देख्न सकिन्छ ।
कलेजको असाइन्मेन्ट पूरा गर्न यात्रामा निस्किएका युवायुवतीको जीवनमा आएको परिवर्तनलाई यात्रामा खिपिएको छ । निर्देशक सम्राट लामो समय मुख्य सहायक निर्देशक भई काम गरेका व्यक्ति हुन् ।
ए मेरो हजुर-३ झरनाले निर्देशन गरेको दोस्रो फिल्म हो । यसअघि उनले गत वर्ष ए मेरो हजुर-२ निर्देशन गरेकी थिइन् ।